नाकाबन्दी खुलाउन बाबुरामका चार सूत्र

काठमाडौं: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन चार सूत्र अगाडि सारेका छन्। तराई÷मधेसमा भइरहेको आन्दोलन र भारतीय नाकाबन्दीलाई एकै ठाउँमा राखेर मुलुकलाई गम्भीर र विस्फोटक परिस्थितिमा पुर्‍याइएको ठहर गर्दै भट्टराईले समाधानका लागि चार उपाय अगाडि सारेका हुन्।'जुनसुकै कारणमा भए पनि एउटा भूपरिवेष्टित मुलुकले पाउनुपर्ने अकुण्ठित पारवहन अधिकार र द्विपक्षीय सम्झौता उल्लंघन नेपालको स्वाधीनता र सार्वभौमिकतामाथिको अतिक्रमण हो।

प्रत्येक स्वाभिमानी नेपालीले एक स्वरले त्यसको विरोध गर्नै पर्दछ। राष्ट्रिय हितका विषयमा नागरिकका बीचमा जतिसुकै आपसी मतभेद र कटुता भए पनि साझा धारणा बन्नुपर्छ जुन अहिले हुन नसक्नु दुखद हो', नागरिक अगुवासमक्ष आइतबार पेस गरेको कार्यपत्रमा भट्टराईले भनेका छन्, 'तराई÷मधेस आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै डालोमा हालेर बल्झाउने काम सत्ताधारी दलबाट भइरहेको छ त्यो अत्यन्त हानिकारक छ। 
तराई÷मधेस र थरुहट आन्दोलन साउन अन्त्यदेखि हुँदै आएको थियो भने त्यसलाई बेलैमा सम्बोधन नगर्दा त्यसको बहानामा असोजदेखि भारतीय अघोषित नाकाबन्दी थपिएको कटु सत्यलाई पनि कसैले लुकाउन सक्दैन। त्यसैले ती दुई भिन्न कुरालाई अलग्याएर आन्तरिक समस्या सम्बन्धित पक्षसँग वार्ता र सम्झौताको तरिकाले हल गर्ने र भारतसँगको समस्या छुट्टै कूटनीतिक ढंगले हल गर्ने विधि सत्ता पक्षले अपनाउनुपर्छ।'
मधेस र थरुहटको समस्या समाधान भएपछि पनि भारतीय अघोषित नाकाबन्दी कायम रहेमा भारत स्वतः नांगिने पनि भट्टराईले प्रस्ट्याएका छन् । ‘केही समययता पहाडमा भारतविरोधी र तराई÷मधेसमा चीनविरोधी भावना जसरी भड्किँदैछ त्यसले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको द्वन्द्वको अखडा बनाएर राष्ट्रिय हित र भौगोलिक अखण्डतालाई रणनीतिक रूपमा गम्भीर क्षति पुग्न सक्छ। 
छिमेकी भारत र चीनजस्ता दुई उदीयमान विश्वशक्तिसँग सन्तुलित र मैत्रीपूर्ण सम्बन्ध राखेर नै नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्न सकिन्छ भन्ने तथ्यलाई सबै नेपालीले आत्मसात् गर्नुपर्दछ', भट्टराईको कार्यपत्रमा भनिएको छ। वर्तमान सत्ता पक्षको कूटनीतिक अपरिपक्वता गम्भीर चिन्ताको विषय रहेको पनि भट्टराईले बताए। 
'भारतसँगको दुईअढाइ सय वर्षदेखिको संरचनात्मक प्रभुत्व पराश्रित सम्बन्धलाई आधारभूत रूपले पुनर्संरचना नगरेसम्म अहिले भोग्नुपरिरहेको अघोषित नाकाबन्दीजस्ता समस्या झेलिरहनु पर्नेछ भन्ने तितो सत्यलाई बोध गर्दै तत्काल भारतसँग द्विपक्षीय पारस्परिक हितका आधारमा सम्बन्ध सामान्यीकरण गर्ने नीति अवलम्बन गरिनुपर्छ', भट्टराईले भनेका छन्।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar