‘कसैले चित्त नदुखाए हुन्छ, उत्तरका सबै नाका खोलिन्छन्’

अर्को तिहारबाट लोडसेडिङ हुने छैन 
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनसँग जोडिएका सबै सीमानाका खोलिने बताएका छन् । शनिबार काठमाडौंमा हिमशिखर टेलिभिजनको कर्पोरेट कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महान छिमेकीले दिएको नाकाबन्दीको उपहारलाई स्वीकार्दै उत्तरका सबै नाका खोलिने बताएका हुन् । ‘कसैले चित्त नदुखाए हुन्छ, उत्तरका सबै नाका खोलिन्छन्’, प्रधानमन्त्री ओलीले भने, ‘नेपाली जनताले विश्वकै सबैभन्दा लोकतान्त्रिक संविधान बनाउँदा छिमेकीले दिएको यो उपहारलाई ग्रहण गर्दै नेपाली जनताले आफ्नो खुट्टामा उभिनका लागि सबै विकल्प अपनाउनेछन् ।
आफूले छोटो समयमात्रै काम गर्न पाउने ज्ञात भएको बताउँदै प्रम ओलीले यही छोटो समयमा अनौठा काम गरेर जनता र देशलाई आत्मनिर्भर बनाइछाड्ने प्रतिवद्धता जनाए । ‘छिमेकीले हाम्रा आँखा च्यातेर खोलिदिएको छ। यो बेला हामी उभिन सकेनौं भने कहिल्यै उभिन सक्दैनौ’, प्रम ओलीले भने, ‘म प्रधानमन्त्री बनेपछि नाकाबन्दी खुल्छ भन्ने आशमा थिएँ, त्यसो हुन सकेन । अब हामीले ग्यास र पेट्रोलियमको विकल्प खोज्ने बेला आएको छ । हाम्रो जीवनशैली परिवर्तन गरी विद्युत्त र सौर्यउर्जाको प्रयोग बढाउनुपर्छ ।प्रधानमन्त्री ओलीले कार्यक्रममा करिब एक घण्टा मन्तब्य दिने क्रममा आफ्नो कार्यकालमा गर्न सक्ने कामको फेहरिस्त नै प्रस्तुत गरे । 
काठमाडौंमा ट्रली ब्युँताउने, मेट्रो चलाउने
कार्यक्रममा प्रमुख अतिथिकारुपमा मन्तब्य दिँदै प्रधानमन्त्री ओलीले काठमाडौं चाँडो भन्दा चाँडो मृत भइसकेको ट्रली बस सेवालाई पुनः ब्युँताउने उद्घोष गरे । काठमाडौंमा फेरि ट्रली बस कुदाउँछौं, बनेपादेखि थानकोटसम्म र बुढानिलकण्ठदेखि दक्षिणकालीसम्म मेट्रो रेल कुदाउँछौं’, प्रम ओलीले भने, ‘सहरका भित्री भागमा सौर्य उर्जा र जलविद्युत्तबाट चल्ने साना सवारीसाधन सञ्चालनमा ल्याउँछौ ।’
पूर्व–पश्चिम लोकमार्ग ६ लेन
आफ्नो कार्यकालमा विकासका योजना आक्रमकरुपमा ल्याउने बताउँदै प्रधामन्त्री ओलीले तराई–मधेसमा रहेको पूर्व–पश्चिम लोकमार्गलाई ६ लेनको बनाउने उद्घोष गरे । ‘पूर्व–पश्चिम लोकमार्गलाई ६ लेनको बनाएरै छाड्छु । चतरादेखि सिन्धुलीसम्म तत्काल पक्की सडक निर्माण शुरु गराउँछु’, प्रम ओलीले भने, ‘पहाडमा पूर्व–पश्चिम जोड्ने सडक खनिएको छ । आवश्यक परे हिमालमा पनि पूर्व–पश्चिम सडक बनाउनेतर्फ अघि बढ्छौं।
अर्को तिहारमा लोडसेडिङ हुँदैन 
प्रधानमन्त्री ओलीले आफूले पुरा गर्न नसक्ने सपना जनतालाई नबाँडेको उल्लेख गरे । उनले अर्को तिहारबाट नेपालमा लोडसेडिङ सदाका लागि अन्त्य गर्ने बताए । भारतीय नाकाबन्दीले सबै जातजाति र सबै भूगोलका नेपालीको चुल्हो निभेको बताउँदै अहिले देशमा जातीय कुरा गरेर हिंसा मच्चाउन खोज्नेसँग सजग रहनुपर्ने बताए । प्रम ओलीले भारतीय नाकाबन्दीले सबै जातजाति अफ्ठेरोमा रहेको बताउँदै यो बेला सबै जातजाति एक भएर राष्ट्रिय स‍ंकटको सामना गर्नुपर्ने उल्लेख गरे । 
‘अर्को तिहारबाट नेपालमा लोडसेडिङ हुने छैन, मैले सपना बाँडेको होइन, पुरा गरेर छाड्छु’, ओलीले भने, ‘एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने विधि र योजना बनाइसकेको छु । अब त्यसलाई पूरा गर्न म तीब्र गतिमा अघि बढ्छु ।’
तराईका गरिब र सुकुम्बासीलाई घर 
आफूलाई मधेसविरोधीमा भनेकोमा प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्दै मधेसमा ५३ वर्षसम्म बसेकाले आफूले मधेसको समस्या राम्ररी बुझेको उल्लेख गरे । ओलीले आफूलाई फेरि चुनावमा उठ्ने इच्छा नभएको बताउँदै यदि उठ्नै परेमा मधेसका जुनसुकै जिल्लामा गएर चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए । ‘मेरा लागि हिमाल, पहाड र तराईका सबै जनता समान हुन्, मलाई जनताले यहाँसम्म पु¥याएका हुन्’, उनले भने, ‘मैले अर्को पटक चुनाव उठ्नुप¥यो भने मधेसका जुनसुकै जिल्लामा गएर पनि चुनौतीको सामना गर्न तयार छु।
‘मैलेजति तराई–मधेस कसले बुझेको होला ? ५३ वर्षदेखि मधेसमा बसेको मान्छे कसरी मधेसविरोधी हुनसक्छ ?’, उनले भने, ‘तराई–मधेसमा रहेको गरिबी, रुढीबादी र अशिक्षा अन्त्य गर्न छोडेर केही मधेसी दलका नेता सीमाना थुनेर आफ्नै दाजुभाइलाई संकटमा पारिरहेका छन् ।पहाड र हिमालका दुर्गम ठाउँका आमाबाबुले छोराछोरीलाई घण्टौ टाढाको विद्यालयमा पठाएर पढाइरहेका बेला मधेसमा भने घर अगाडिको स्कुलमा पनि छोराछोरी नपठाउने प्रवृत्ति रहेको उनको भनाइ थियो ।
‘मधेसी दलकै कारण मधेसी जनता पछि परेका छन् । जनतालाई शिक्षा र सचेतना दिनुको साटो नाका थुनेर ३ महिनादेखि विद्यालय बन्द हुँदा त्यहाँका बालबालिकाको भविष्य कहाँ पुग्ला ?’, ओलीले भने, ‘तराई–मधेसमा रहेका गरिब र सुकुम्बासीलाई उचित बसोबासको पनि समस्या छ । त्यसैले तराई–मधेसका गरिब र सुकुम्बासी दाजुभाइ दिदीबहिनीलाई सरकारले घर बनाएर निशुल्क प्रदान गर्नेछ ।’
तराई–मधेसका सबै नेपाली नागरिकले नागरिकता पाइसकेको र अझै पनि वितरण गर्दै जाने बताउँदै प्रम ओलीले अंगिकृतका नाममा कुनै पनि विदेशीलाई राष्ट्रको प्रमुख पदमा पुग्न नदिने उल्लेख गरे । ‘छिमेकीमै अंगिकृत नागरिकता भएकाले राष्ट्रको उच्च पदमा पुग्न पाएका छैनन्’, ओलीले भने, ‘छिमेकीले विदेशी बुहारीलाई सरकारको नेतृत्व नदिएको अवस्थामा उसैले हामीलाई दबाब दिनु अनुचित हो ।’
यो बेला भित्तो हानेर सिंगौरी खेल्ने होइन 
प्रधानमन्त्री ओलीले भूकम्पले देश थला परेर उठ्न नसकेका बेला सहमतिको राजनीति तोडेर कांग्रेसले सिंगौरी खेल्न खोजेको आरोप लगाए ।संविधान बन्नुअघिसम्म सजिलै सत्ता हस्तान्तरण गर्न तयार भएको नेपाली कांग्रेसले संविधान बनेपछि भने राता आँखा पार्दै सहमतीय राजनीति तोडेको ओलीको आरोप थियो । ‘संविधान बन्नुअघि सत्तामा कांग्रेस सभापतिले एकैक्षण पनि बस्दिन भने । मैले होइन आरामले छाड्नुस् सहमतिबाट अघि बढौं भनेको थिएँ’, उनले भने, ‘तर संविधान आएपछि कांग्रेसले अनुहार विगार्दै आँखा पनि राता बनाएर सहमतिको राजनीति तोड्यो । अहिलेको बेला भित्तो भत्काउँदै सिंगौरी खेल्ने होइन मिलेर अघि बढ्ने बेला हो ।’ 
हामीले नराम्रो सोचेका छैनौं, ग्यास र इन्धन पठाउ 
भारत र भारतीय जनताप्रति नेपाली जनताले कहिल्यै कुभलो र नराम्रो नसोचेको प्रधानमन्त्रीको भनाइ थियो । ‘हामीले भारत र त्यहाँका जनताप्रति कहिल्यै नराम्रो सोचेका छैनौं’, प्रम ओलीले भने, ‘छिमेकीले आफ्ना लागि संविधान बनाउँदा नाकाबन्दी लाउनु अमानवीय व्यबहार हो । त्यसैले ग्यास र इन्धन चाँडो भन्दा चाँडो नेपाल पठाइदेउ ।’
उद्योग कारखाना खोल्न तीब्र पार्ने
प्रधानमन्त्री ओलीले आफुलार्इ स्वर्ग जाने भर्याङ बनाउने भन्दा देश बनाउने चिन्ताले पिरोलेको बताए 'अब धेरै समय छैन, त्यसैकारण छिटो गर्नुपर्छ, स्वर्ग जाने भर्याङ बनाउने हैन, नेपाल फेर्ने बाटो चाहिँ बनाएरै छोड्छु । छोटो समयमा हामी केही गर्छौं', उनले भने, 'कृषिको आधुनिकीकरण र व्यवसायीकरण, पशुजन्य व्यवसाय वृद्धि, कपडाका लागि कपासको खेती, टेक्सटायल उद्योग स्थापनालगायतका कामलाई अघि बढाई औद्योगिकीकरण र आधुनिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउँदै जान्छौँ ।' 
भारतीय नाकाबन्दीले नेपालीको आँखा खुल्ने र खुल्नुपर्ने बताउँदै प्रम ओलीले अब देशभर उद्योगधन्दा खोल्ने कामलाई तीब्र पारिने बताए । ‘भारतले नाकाबन्दी लाएको अवस्थामा सर्टको टाँक खुस्कियो भने केले सिलाउनु? धागो हाम्रोमा बन्दैन’, ओलीले भने, ‘अब हामीले कपास र किम्बु खेतिलाई व्यापक बनाउनुपर्छ । ठूला औद्योगिक क्षेत्रको स्थापना गरौं । आफू बलियो भएपछि कसैले हेप्दैन ।’
भारतीय नाकाबन्दीले कृषको खेतबारी बाँझिने अवस्थामा पुगेको बताउँदै प्रम ओलीले यो अवस्थबाट मुक्ति पाउन नेपालीले आफैं विकल्प खोजिनुपर्ने बताए ।‘नाकाबन्दीले कृषकको खेतबारी बाँझो भएको छ । भूकम्पपीडितलाई पुनःस्थापना गर्न सामान ढुवानी गर्न सकिएको छैन’, उनले भने, ‘महान छिमेकीको यो सदासयतासँग जुध्नका लागि नेपाली जनताले जुन धैयर्ता देखाउनुभएको छ, त्यसका लागि म आभारी छु ।’

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar